खोटाङमा लोक नृत्य तथा गायन प्रशिक्षण

काठमाडौँ । खोटाङ जिल्लाको खोटेहाङ गाउँ पालिकामा वैशाख ४ देखि १३ गतेसम्म नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र  खोटेहाङ प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा  आधारभूत लोकनृत्य तथा गायन प्रशिक्षण सञ्चालन गरियो । 

प्रशिक्षणमा खोटेहाङ गाउँ पालिकाका विभिन्न विद्यालयका शिक्षकशिक्षिका र युवाहरुलाई प्राथमिकता साथ सहभागी गराइएको थियो । शिक्षकशिक्षिका र युवा प्रशिक्षित भएपछि बालबालिका र विद्यार्थी स्वतः लाभान्वित हुने उद्देश्यले यसो गरिएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख प्राज्ञ डाक्टर  किराँतले स्पष्ट पार्नुभयो । प्रशिक्षणलाई वैशाख ४ गते एक औपचारिक कार्यक्रमका साथ खोटेहाङ गाउँ पालिकाका अध्यक्ष उदिम बहादुर राईबाट उद्घाटन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि राईले लोकसङ्गीत र नृत्यको संरक्षणमा यस्ता प्रशिक्षण अत्यन्त जरुरी रहेको भन्दै आयोजक नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानप्रति आभार प्रकट गर्नु भएको थियो् । विशेष अतिथि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख प्राज्ञ डक्टर किराँतले सङ्गीत तथा नाट्य विधाको संरक्षण, संवद्र्धन र विकासका लागि प्रज्ञा–प्रतिष्ठान स्थानीय तहसम्म आइपुगेको भन्दै सहकार्यका लागि खोटेहाङ प्रज्ञा–प्रतिष्ठानलाई धन्यवाद व्यक्त गर्नुभयो ।

 

खोटेहाङ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष इन्द्र नारथुङ्गेको अध्यक्षतामा आयोजित कार्यक्रममा खोटेहाङ गाउँ पालिकाका उपाध्यक्ष रुपेश राई, प्रशासकीय अधिकृत महेश राई लगायतले प्रशिक्षण सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । खोटेहाङ गाउँ पालिकाका वडाध्यक्ष, कर्मचारी, क्याम्पस र विभिन्न तहका विद्यालयका अध्यापक, राजनीतिक दलका प्रतिनिधि र स्थानीयको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रमलाई खोटेहाङ प्रज्ञा–प्रतिष्ठानका उपाध्यक्ष देवराज सापकोटाले सञ्चालन गर्नु भएको थियो । यसै प्रज्ञा–प्रतिष्ठानका सदस्य जीवन राईले गीत प्रस्तुत गर्नु भएको थियो ।

 

१० दिनसम्म चलेको प्रशिक्षणमा गोठाले भाका, हाक्पारे भाका, साकेला सिली भाका, सेलो भाका, हुर्रा भाका, मारुनी भाका, सङ्गिनी भाका, मुन्दमी सङ्गीत र आधुनिक सङ्गीतबारे प्रशिक्षक दीपक राई बान्तावाले प्रशिक्षण दिनु भएको थियो । त्यसै गरी साकेला नृत्य, तामाङ सेलो नृत्य, हुर्रा नृत्य, सङ्गिनी नृत्य र लोक तथा आधुनिक नृत्यबारे स्वर्णिमा राई र रिना न्यौपानेले प्रशिक्षण दिनु भएको थियो । यस गाउँ पालिकाका ९ वटै वडाका विभिन्न तहका विद्यालयका शिक्षकशिक्षिका र युवाहरुलाई सहभागी गराइएको प्रशिक्षण उपलब्धिमूलक रहेको खोटेहाङ प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष इन्द्र नारथुङ्गेले बताउनु भयो । प्रशिक्षणलाई वैशाख १३ गते एक औपचारिक कार्यक्रमका साथ समापन गरिएको थियो । कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रज्ञा–प्रतिष्ठानको तर्फबाट प्रमाण पत्र वितरण गरिएको थियो भने प्रशिक्षार्थीले आफूले सिकेको नृत्य र गायन समेत प्रस्तुत गरेको थिए ।