राष्ट्रिय प्रज्ञा-पुरस्कार-२०८१ बाट ८ जना वरिष्ठ स्रष्टा पुरस्कृत हुने

प्रज्ञा–प्रतिष्ठानको १५ औँ वार्षिकोत्सव
राष्ट्रिय प्रज्ञा–पुरस्कार–२०८१ घोषणा
८ जना वरिष्ठ स्रष्टा पुरस्कृत हुने
काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानकाे १५ आैँ वार्षिकाेत्सव समाराेह बुधबार काठमाडाैँस्थित रुसी सांस्कृतिक केन्द्र कमल पाेखरीमा एक कार्यक्रमका बिच सम्पन्न भयाे । साे अवसरमा 'नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा-पुरस्कार-२०८१' पुरस्कृत हुने आठ जना वरिष्ठ स्रष्टाहरुकाे नाम समेत सार्वजनिक गरियाे ।

कार्यक्रमलाई नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई र नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमनि हार्ताम्छालीले प्रमुख अतिथिकाे हैसियतमा पानसमा दीप प्रज्ज्वलन गरी समुद्घाटन गर्नु भएकाे थियाे । गायन, नृत्य र नाट्य प्रस्तुति सहित आयाेजना गरिएकाे कार्यक्रममा प्रमुख अतिथिद्वय कुलपति राई र हार्ताम्छालीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएकाे थियाे ।

कुलपति राईले प्रज्ञा-प्रतिष्ठानहरुलाई आफ्नाे अस्तित्व चिनाउने र गणतान्त्रिक संस्कृतिकाे निर्माण गर्ने चुनाैती रहेकाे धारणा राख्नुभयाे । प्रज्ञा-प्रतिष्ठानहरु स्वाशासित अविच्छिन्न उत्तराधिकारीवाला संस्था भए पनि विचारका हिसाबले विच्छिन्न हुन सके मात्र गणतान्त्रिक संस्कृति निर्माणमा याेगदान गर्न सक्ने बताउनुभयाे । समग्र चिन्तन प्रणालीका रुपमा संस्कृतिलाई बुझेर राज्यले लगानी गरे मात्र राष्ट्र समृद्ध हुने विचार व्यक्त गर्नु हुँदै सङ्घीय लाेकतान्त्रिक गणतन्त्रकाे स्थापना भएपछि मात्र गाउँगाउँमा प्राज्ञिक अभ्यास शुरु हुन थालेकाे उहाँले राय व्यक्त गर्नुभयाे ।

 

 

त्यसै गरी कुलपति हार्ताम्छालीले सङ्घीय, प्रदेश र पालिका तहमा गठन भएका सबै प्रज्ञा-प्रतिष्ठानबिच आवश्यक सहकार्य र समन्वय गर्नका लागि सरकारलाई आवश्यक नीति बनाउन घच्घचाउनुपर्ने विचार व्यक्त गर्नुभयाे । उहाँले पालिका तहमा गठन भएका प्रज्ञा-प्रतिष्ठानका कुलपतिमा पालिका प्रमुख रहने र सदस्यसचिवमा कर्मचारी रहने विकृतिकाे अन्त्य गरी स्रष्टाहरुलाई नेतृत्व दिनुपर्ने पनि बताउनुभयाे ।

समाराेहका अध्यक्ष नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानकी कुलपति निशा शर्मा पाेखरेलले सीमित बजेटका बाबजुद पनि नेपालकाे सङ्गीत तथा नाट्य विधाकाे सर्वाङ्गिण विकासका लागि प्रज्ञा-प्रतिष्ठान तत्परताका साथ अघि बढेकाे बताउनुभयाे । कलाकारहरुकाे परिचय पत्र वितरण, विमा, व्यवस्थित राेयल्टी सङ्कलन, सङ्गीत प्रशिक्षण पाठ्यक्रम निर्माण गरी नेपालबाटै प्रमाणपत्र वितरण, आफ्नै स्थायी सुविधा सम्पन्न भवन निर्माण आदि आवश्यक काम आफ्नाे कार्यकालमा सम्पन्न गर्ने याेजनाका साथ अघि बढेकाे पनि उहाँले जानकारी दिनुभयाे ।

 

कार्यक्रममा स्वागत मन्तव्य राख्नु हुँदै उपकुलपति शम्भु राईले १५ आैँ वार्षिकोत्सव मनाई रहँदा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले आफूलाई समीक्षा गर्दै आगामी दिनमा नयाँ गुरुयाेजनाका साथ अघि बढ्ने बताउनुभयाे ।

कार्यक्रममा प्राज्ञसभा सदस्य शान्ति कठायतकाे काेरियाेग्राफमा राष्ट्रिय भावनाले भरिपूर्ण गीतमा नृत्य प्रस्तुत गरी स्वागत गरिएकाे थियाे । यसै गरी वरिष्ठ गायिका कुन्ती माेक्तानले 'लाली गुराँश ..' र 'काेही भन्छन् जिन्दगी...' बाेलकाे दुई वटा गीत प्रस्तुत गर्नु भएकाे थियाे भने वरिष्ठ रङ्गकर्मी वीरेन्द्र हमालकाे परिकल्पनामा अग्रज कवि उषा शेरचनकाे कविता 'पैताला'मा आधारित नाटक मञ्चन समेत गरिएकाे थियाे । कुलपति निशा शर्माकाे मुख्य अभिनय रहेकाे नाटक दर्शककाे वाहिवाही पाउन सफल भयाे ।

 

 

कार्यक्रममा 'नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा-पुरस्कार-२०८१' बाट सम्मानित हुने ८ जना वरिष्ठ स्रष्टाहरुकाे नाम समेत घाेषणा गर्नुभयाे । सम्माननीय राष्ट्रपतिकाे बाहुलीबाट ताम्रपत्र सहित नगद १ लाख १ रुपैयाँ राशी रहेकाे यस पुरस्कारबाट यसपल्ट सङ्गीत विधातर्फ कुन्ती माेक्तान, शास्त्रीय तथा परम्परागत विधामा कुशेश्वर राई, नाट्य विधामाबेद कुमारी न्यौपाने, लोक सङ्गीत विधामा नारायण रायमाझी, रङ्गमञ्च विधामा हरिबदादुर थापा, नृत्य विधामा भुवनदास श्रेष्ठ, खोज तथा अनुसन्धान नृत्य विधामा केपी पौडेल र वाद्यवादन विधातर्फ राजु अग्रवाल पुरस्कृत हुनु हुनेछ । कुलपति पाेखरेलले यसै वर्षबाट लाइफटाइम एचिभ्मेन्ट सम्मानले १ वरिष्ठ कलाकारलाई सम्मान गर्न पुरस्कार काेश स्थापना गरी चाँडै साे पुरस्कार प्राप्त गर्ने स्रष्टाका नाम समेत घाेषणा गरिने जानकारी दिनुभयाे ।

कार्यक्रममा प्रज्ञा-प्रतिष्ठानसँग सहकार्य गर्ने ६ वटा सङ्घसंस्थालाई पनि सम्मान गरिएकाे थियाे । यसरी सम्मानित हुने संस्थामा चाहना कला केन्द्र राेल्पा, रेडियाे लाङटाङ रसुवा, चाैतारी कला समाज धनगढी, नेपाल थारु कलाकार सङ्घ, काठमाडाैँ, नातिकाजी स्मृति समाज, गाेधुली कला साहित्य प्रतिष्ठान र राष्ट्रिय नृत्य सङ्घ नेपाल रहेका छन् । यसै गरी प्रज्ञा-प्रतिष्ठानमा कार्यरत कर्मचारी मेनुका गाैतम ढकाल, सन्ताेष पाेखरेल, कृष्णकुमारी खत्री, माेहन केसी खड्का र विजय श्रेष्ठ पनि उत्कृष्ट कार्य सम्पादन गरेकाे भनी पुरस्कृत गरिएकाे थियाे ।

सदस्यसचिव कुश्मा महरा 'प्रगति'ले सञ्चालन गर्नु भएकाे कार्यक्रममा वरिष्ठ नृत्यगुरु भैरवबहादुर थापा, सङ्गीत तथा नाट्य विधाका वरिष्ठ सर्जक, सङ्घसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीकाे बाक्लाे उपस्थिति रहेकाे थियाे ।