गणतन्त्र दिवस सांस्कृतिक साँझ" सम्पन्न
जेठ १६ गते ।
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूकाे समुपस्थितिमा १६ औँ गणतन्त्र दिवसकाे अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सांस्कृतिक संस्थानमा आयाेजित "गणतन्त्र दिवस सांस्कृतिक साँझ" सम्पन्न भएकाे छ । कार्यक्रममा सांस्कृतिक संस्थान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलद्वारा विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यक्रम संयोजक मा. मन्त्री सुदन किरातीले भ्रष्टचार राष्ट्रको शत्रु भएको भन्दै ‘‘हामी आगो सहन्छौँ भ्रष्टचार सहन्नौँ’’ भन्नु भयो ।
कार्यक्रममा स्वागत नृत्य स्वरुप सांस्कृतिक संस्थानका कलाकारहरुले ‘पूर्वको माया पश्चिमलाई..’ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए । दोस्रो प्रस्तुति स्वरुप नेपाली सेनाको कलाकार समूहले ‘सुन्दर शान्त नेपाल..’बोलको गीतमा नृत्य प्रस्तुति दिएको थियो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रस्तुति स्वरुप प्रेमयुद्ध कवितामा कुलपति निशा शर्मा सहितको कलाकार समूहले कविता नाटक मञ्चन गरेको थियो । त्यस्तै ‘जस्तो छ विशाल आकाश..’बोलको गीतमा नृत्य प्रस्तुत गरिएको थियो भने उपकुलपति शम्भु राईले ‘झुपडीकी रानी रुन्छे..’ बोलको गीत गाउनु भएको थियो ।
सांस्कृतिक प्रस्तुति दिने क्रममा नेपाल प्रहरीको कलाकार समूहले ‘नयाँ नेपाल..’ बोलको गीतमा नृत्य प्रस्तुति दिएको थियो भने सांस्कृतिक संस्थानका कलाकारले ‘गाउँछ गीत नेपाली...’ बोलको गीत प्रस्तुत गरेका थिए तथा अन्तिम प्रस्तुति स्वरुप सशस्त्र प्रहरी बलका कलाकार समूहले सन्देश मूलक ‘देशको माटो’ नामक गीत नाटक प्रस्तुत गरेको थियो ।
राष्ट्रियसभाका अध्यक्ष, उपप्रधान तथा गृहमन्त्री, परराष्ट्रमन्त्री, सूचना तथा सञ्चार प्रविधिमन्त्री, कृषिमन्त्रीलगायत मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्त कर्मचारी, कुटनीतिक नियोगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो ।


English
नेपाली
सेश्रा इनोभेसन